काठमाडौं । ‘सुपर सब’ फागुराम थारुले मैदान प्रवेश गरेको १० मिनेटमा दुई गोल गरेपछि प्लानिङ ब्वाइज युनाइटेडले सातदोबाटो युवा क्लबविरुद्ध ४-२ को रोमाञ्चक जित हासिल गरेको छ ।
खेलको ७४औं मिनेटमा लेफ्ट विंगर श्यामु मुर्मु घाइते भएपछि कप्तान फागुराम मैदानमा प्रवेश गरेका थिए । जतिबेला खेल २-२ को अवस्थामा थियो । पाँच मिनेट पनि बित्न नपाउँदै फागुरामले हेडरमार्फत प्लानिङलाई अग्रतामा ल्याए ।

त्यसपछि ८३औं मिनेटमा रिबाउन्ड बललाई लेफ्ट फुटमार्फत गोल पोस्टको दिशा दिए । बाँकीको सात मिनेटमा सातदोबाटोले केही दबाब र्सिजना गरेपनि गोल गर्न सकेन ।
खेलमा सुरुआती अग्रता सातदोबाटोले लिएको थियो । २१औं मिनेटमा सोबिरोभ बोबिर्शोहले गोल गरेका थिए । निर्धारित हाफको इन्जुरी समयमा एलेक्स विलेनले प्लानिङलाई खेलमा फर्काए ।
लिगमा सातदोबाटोको यो दोस्रो हार हो । यसअघि सातदोबाटोले न्युरोड टिम (एनआरटी)सँग ३-१ को हार बेहोरेको थियो । प्लानिङको यो दोस्रो जित हो । पहिलो खेलमा प्लानिङले नेपाल पुलिस क्लबलाई १-० ले हराएको थियो ।
