काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा जन जागृति युवा क्लबमाथि २–० को जित हासिल गर्दै चित्लाङ फुटबल क्लब यही पुस ९ मा हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट हुन सफल भएको छ ।
बिहीबार प्रतियोगिताको नवौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा चित्लाङलाई जित दिलाउन विज्ञान खड्का र मदन स्याङ्ताङले गोल गरे । जितसँगै चार खेलमा सात अंक जोड्दै चित्लाङले सेमिफाइनलमा आफ्नो स्थानलाई सुरक्षित गर्यो । सेमिफाइनल समीकरणबाट यसअघि नै बाहिरिसकेको जन जागृतिको यो तेस्रो हार हो । जन जागृतिले चार खेलमा मात्र एक अंक जोड्न सक्यो ।
यो नतिजासँगै समूह ‘ए’बाट सेमिफाइनल पुग्ने दुबै टोलीको टुंगो लागेको छ । चित्लाङअघि लालिगुँरास सेमिफाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उप–विजेताले सेमिफाइनलमा स्थान बनाउनुका साथै राष्ट्रिय लिगमा छनोट हुने सेट–अप छ ।
समूह ‘बी’बाट काँक्रे बिहार सेमिफाइनलमा पुगिसकेको छ । शुक्रबार नव जन जागृति युवा क्लब र हैरान्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईमध्ये एउटाले राष्ट्रिय लिगको टिकट काट्नेछ ।
