काठमाडौं । म्यानचेस्टर युनाइटेडले युइएफए महिला च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगाता तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
बुधबार ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । तीनै खेलमा पराजित पिएसजी अंकविहिन छ ।
युनाइटेडलाई जित दिलाउन मेलविन मालार्ड र फ्रिडोलिना रोल्फोले गोल गरे । पिएसजीका लागि ओल्गा कार्मोनाले गोल फर्काइन् ।
खेलको ३१औं मिनेटमा मालार्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । उनले जेडे रिभिएरको पासलाई सदुपयोग गरिन् ।
पहिलो हाफको इन्जुरी समयमा कार्मोनाले पिएसजीलाई बराबरीमा ल्याइन् । उनले ज्याकी ग्रोनेनले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिइन् ।
रोल्फोले ५८औं मिनेटमा गोल गर्दा युनमाइटेड २-१ ले अगाडि बढ्यो । यस पटक अन्ना स्यान्डबर्गले गोलको अवसर सिर्जना गरेकी थिइन् ।
