काठमाडौं । नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
खेल ढाकामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
बंगलादेशसँगको सामना गर्दा नेपाल आफ्नो जितविहिन नतिजालाई अन्त्य गर्ने सोचमा हुनेछ । टोलीले पछिल्ला पाँच खेलमा तीन हार र दुई बराबरीको नतिजा निकालेको छ ।
पछिल्लो पटक नेपालले मार्चमा सिंगापुरविरुद्ध १-० को जित निकालेको थियो ।
नेपाल हरि खड्काको प्रशिक्षणमा मैदान उत्रिदैछ । म्याट रसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खड्कालाई प्रशिक्षक बनाएको हो ।
यता बंगलादेश पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई निसार बनाउने लक्ष्यमा छ । बंगलादेशले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । गत भदौमा नेपालम सम्पन्न मैत्रीपूर्ण खेलमा भने उनी थिएनन् ।
नेपाली टोलीका प्रशिक्षकखड्काले चौधरीको आगमनले टोली नडराउने बताउँछन् । ‘हम्जा खेल्दा बंगलादेश अझै सन्तुलित बन्छ । तर हामी डराउँदैनौं, किनभने फुटबलमा व्यक्तिगत भन्दा पनि टिम गेम हेरिन्छ,’ खड्काले बुधबार आयोजित पोस्ट म्याच कन्फिरेन्समा भनेका थिए ।
यस्तै नेपालका कप्तान किरण चेम्जोङले पनि जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत प्रतिक्रिया दिए ।
पछिल्लो पटक यी दुईबीच गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दुई खेल हुने तय भएपनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।
नेपालले यो खेललाई नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेलको तयारीका रूपमा लिएको छ ।
