काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई डाबर नेपालले ‘एसोसियट’ पर्टनरका रूपमा साथ दिने भएको छ ।
सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौता पत्रमा सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे ।
सम्झौतापछि सुदूरपश्चिमका सिइओ खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।
‘डाबरजस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौंं,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’
यसैगरी डाबर नेपालका मार्केटिङ प्रमुख गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए । उनले भने, ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।’

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
हिक्मत महरालाई ‘आइकोनिक खेलाडी’ मा छनोट गरेको टोलीले टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
