काठमाडौं । युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।
बिहीबार एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै कुशलले पहिलो अन्तर्राष्ट्रिय क्याप जितेका हुन् ।
नेपाल ३–१ ले पराजित रहेको खेलमा कुशलले खेलको ८५औं मिनेटमा अट्याकिङ मिडफिल्डर आयुष घलानलाई प्रतिस्थापन गरेका थिए । पनि कुशल राष्ट्रिय टोलीमा थिए ।
उमेर समूहमा नेपालको ‘क्याप्टेन आर्मब्यान्ड’ लगाइसकेका कुशलले तेस्रो अवसरमा डेब्युको मौका पाएका हुन् । गत जुनमा लाओसविरुद्ध एसियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा कुशल पहिलो पटक अन्तिम २३ सदस्यीय टोलीमा समावेश थिए । त्यस्तै गत सेप्टेम्बर ६ मा बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि कुशल राष्ट्रिय टोलीमा थिए । तर, उनले मैदानमा उत्रिने अवसर भने प्राप्त गरेका थिएनन् ।
‘एकदमै खुसी लागेको छ । तर, साँचै भन्दा टिमले हार्दा नराम्रो लाग्दो रहेछ,’ डेब्युपछि कुशलले भने, ‘मिहिनेत गरिरहेको थिएँ । आफ्नो मौका कुरिरहेको थिएँ ।’
कुशलले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबको प्रतिनिधित्व गरेका थिए । शीर्ष डिभिजन फुटबलको अनुभव लिन बाँकी कुशलले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण च्याम्पियन ललितपुर सिटी एफसीबाट खेलेका थिए । दोस्रो क्वालिफायरमा पोखराविरुद्ध कुशलले निर्णायक गोल गर्दै ललितपुरलाई फाइनलसम्म पुर्याएका थिए ।
गत वर्ष घरेलु भूमिमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको छैटौं संस्करणमा कुशल नेपाली टोलीका कप्तान थिए । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोली फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । त्यसलगत्तै चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु–२० छनोटमा पनि कुशलले टोलीको नेतृत्व गरेका थिए ।
सन् २०२३ मा नेपालले साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करण आयोजना गरेको थियो । सुनिल श्रेष्ठको उक्त टोलीमा पनि कुशल महत्वपूर्ण खेलाडी थिए ।