काठमाडौं । कप्तान मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनप्रेरित इजिप्ट आगामी वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
बुधबार लार्बी जाउली रंगशालामा सम्पन्न अफ्रिकन छनोटमा जिबुटीविरुद्ध ३-० को सहज जित निकाल्दै इजिप्टले चौथो पटकक विश्वकप यात्रा तय गर्यो । यसअघि टोलीले १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको थियो ।
जितसँगै ९ खेलमा २३ अंक जोडेको इजिप्ट समूह ‘ए’ को शीर्ष स्थानमा छ । यो दोस्रो स्थानको सिएरा लियोनको भन्दा पाँच अंक बढि हो । यो समूहमा अब हरेक टोलीले एक खेलमात्र खेल्न बाँकी छ ।
इजिप्टलाई जित दिलाउन सलाहले दुई तथा इब्राहिम एडेलले एक गोल गरे ।
खेलको आठौं मिनेटमा एडेलको गोलमार्फत इजिप्टले अग्रता लिएको थियो । ६ मिनेटपछि नै सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै इजिप्टलाई सहज जित दिलाए ।
इजिप्ट आगामी विश्वकपका लागि छनोट हुने तेस्रो अफ्रिकन तथा समग्रमा १९औं राष्ट्र हो ।
यसअघि अफ्रिकाबा मोरक्को र ट्युनिसिया, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, र इरान दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसिया प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।