काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भियतनामसँग ३–१ को पराजय बेहोरेको छ ।
बिहीबार हो चिमिन सहरको गो डाउ रगशालामा सम्पन्न खेलमा नेपालले भियतनामलाई पहिलो हाफमा १–१ को बराबरीमा रोकेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्यो ।
हारसँगै नेपालको एसियन कप पुग्ने चुनौतीमा ठूलो धक्का लागेको छ । छनोट प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल हाल अंकतालिकाको पुछारमा छ ।
दोस्रो जित हासिल गरेको भियतनामले लगातार तेस्रो संस्करण एसियन कपमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । भियतनाम यो जितसँगै दोस्रो स्थानमा यथावत छ ।
नेपालले भियतनामलाई पहिलो हाफमा १-१ को बराबरीमा रोकेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्यो ।
साढे ८ हजार घरेलु समर्थकबीच खेलको नवौं मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले भियतनामलाई अग्रतामा ल्याएका थिए ।
खेलको १७औं मिनेटमा नेपालले सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । मिडफिल्डर रोहन कार्कीको फ्रिकिकलाई राइटब्याक सनीस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । अन्तर्राष्ट्रिय फुटबलमा सनीसको यो पहिलो गोल हो ।
खेलको २५औं मिनेटमा भियतनामको गोललाई ‘लाइन्सम्यान’ले ‘अफसाइड’को संज्ञा दिएपछि नेपालले राहतको सास फेर्यो ।
इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । रक्षक सुमन श्रेष्ठको मिस पासमा सृजित भियतनामको ‘काउन्टर’ आक्रमणलाई रोक्ने क्रममा लाकेनले पेनाल्टी बक्स नजिकै विपक्षी खेलाडीलाई फउल गरेका थिए ।
रक्षक फाम ट्वान हाइको गोलमार्फत भियतनामले खेलको ६७औं मिनेटमा पुनः अग्रता लियो । पाँच मिनेटपछि नै भियतनामले अर्को गोल थप्यो । यसपाली वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रक्षक एनगुएन भान भीले गोल गरे ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा आयुष घलानलाई प्रतिस्थापन गर्दै युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।