काठमाडौं । दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग पुसको दोस्रो साता हुने भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै ‘ए’ डिभिजन लिग पुस ९ देखि असार २६ सम्म हुने जानकारी गराएको हो ।
एन्फाले यसपाली देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको छ । तर, शीर्ष डिभिजनका १४ क्लबसँग भने यसबारे विस्तृत छलफल हुन बाँकी नै छ ।
शीर्ष डिभिजन लिगका बारेमा छलफल गर्न आइतबार एन्फाले पत्रमार्फत सबै क्लबलाई असोज २६ गत दिउँसो १ का लागि बैठकमा बोलाएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बैठकमा जेनजी प्रदर्शनका कारण रोकिएको यु-१६ युथ लिगका बारेमा पनि छलफल हुने पत्रमा उल्लेख छ ।
मंगलबार सार्वजनिक क्यालेन्डरअनुसार यु-१६ युथ लिग कार्तिक १७ देखि पुनः सुचारु हुने उल्लेख गरिएको छ । प्रतियोगिता मंसिर २ सम्म चल्नेछ ।
जेनजी आन्दोलनले विकराल रुप लिँदा एन्फाले चलिरहेको यु-१६ युथ लिगसँगै पूर्वघोषित सबैखाले घरेलु गतिविधि अनिश्चिकालका लागि स्थगित गरेको थियो ।
गत मंगलबार मात्र एन्फाले सबै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको थियो ।
त्यसको एक दिनअघि सोमबार पनि एन्फाका केही पदाधिकारी र क्लब प्रतिनिधिहरूबीचको अन्तरक्रिया कार्यक्रममा रोकिएको यु–१६ लिग तथा शीर्ष डिभिजन लिगको विषयमा प्रारम्भिक छलफल भएको थियो । जसबाट अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण गतिविधि बन्द हुने निचोड निकालिएको थियो ।
एन्फाको परिमार्जित क्यालेन्डरअनुसार घरेलु र अन्तर्राष्ट्रिय खेलतालिका यसप्रकार छन् :