काठमाडौं । फ्रान्सका तथा पेरिस सेन्ट जर्मेज (पिएसजी)का फरवार्ड ओस्माने डेम्बेलेले बालोन डि’ओर अवार्ड जितेका छन् ।
पहिलो पटक बालोन डि’ओर हात पारेका डेम्बेलेले पिएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गरेका थिए ।
उनी यो अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडी हुन् । यसअघि रेमन्ड कोपा, मिचेल प्लाटिनी, जियान पियरी पपिन, जिनेदिन जिदान र करिम बेन्जेमाले यो अवार्ड हात पारेका थिए ।
यस्तै स्पेन तथा बार्सिलोनाकी फरवार्ड आइटाना बोन्मतीले लगातार तेस्रो पटक महिलातर्फको अवार्ड जितेकी छन् ।
यस्तै स्पेन तथा बार्सिलोनाका युवा खेलाडी फरवार्ड लामिन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । महिलातर्फको यो अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।
च्याम्पियन्स लिग विजेता पिएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पिएसजीकै लुइस एनरिके उत्कृष्ट प्रशिक्षक चुनिए । पिएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा (हाल म्यानचेस्टर सिटी) उत्कृष्ट गोलरक्षक घोषित भए ।
यता महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्दा सरिना विग्म्यान( इङ्लिस महिला राष्ट्रिय टोली) उत्कृष्ट प्रशिक्षक बनिन् ।
त्यस्तै उत्कृष्ट पुरुषतर्फ स्विडेनका भिक्टोर ग्योकेरेस तथा महिलातर्फ पोल्यान्डकी इवा पाजोर उत्कृष्ट स्ट्राइकर घोषित भए ।