काठमाडौं । ट्युनिसियाको एस्पेरान्स स्पोर्टिभ डे ट्युनिसविरुद्ध ३-० को सहज जित निकाल्दै इङ्लिस क्बल चेल्सी फिफा क्लब विश्वकपको अन्तिम-१६ मा प्रवेश गरेको छ ।
जितसँगै तीन खेलमा ५ खंक जोडेको चेल्सी ‘डी’ को उपविजेता बन्यो । पराजित ट्युनिस भने समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरयो ।
समूह ‘डी’बाट ब्राजिलियन क्लब फ्लेमेन्गो सात अंकका साथ समूह विजेताका रूपमा अगाडि बढ्यो ।
बुधबार अमेरिकाको लिंकन फाइनान्सियल फिल्डमा चेल्सीलाई जित दिलाउन तोसिन अदाराबियोयो, लियम डेलाप र टायरिक जर्जले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा अदाराबियोयोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । इन्जुरी समयमै डेलापले टोलीको अग्रता दोब्बर बनाए । दुवै गोलका लागि इन्जो फनान्डेजले अवसर सिर्जना गरेका थिए ।
खेलको इन्जुरी समयमा जर्जले गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । उनले एन्ड्रे सान्तोसको पासलाई पोस्टको दिशा दिए ।
यही समूहको अर्को खेलमा फ्लेमेन्गो र लस एन्जलस एफसीले १-१ को बराबरी खेले ।
अन्तिम-१६ मा चेल्सीले बेन्फिका तथा फ्लेमेन्गोले बायर्न म्युनिखको सामना गर्नेछन् ।