काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एफसी महिला एसिया कप छनोट खेल्न उज्वेकिस्तान जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.हरिप्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङल, उपाध्यक्ष दावा लामागायतले बिदाइ गरे ।
छनोटकाे समूह ‘एफ’मा रहेको नेपालले लाओस, उज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ । पछिल्लो पटक सन् १९९९ मा महिला एसिया कप खेलेको नेपाल २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।
नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ । यसैगरी टोली जुलाई २ मा श्रीलंका तथा ५ मा आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसिया कपमा छनोट हुनेछ ।
नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बापो सुब्बा(कप्तान), अञ्जना रानामगर, उषा नाथ
रक्षकः अमृता जैसी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई
मिडफिल्डरःअनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल