काठमाडौं । यही जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोली सार्वजनिक गरेको हो । दोस्रो चरणको बन्द प्रशिक्षणबाट ७ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले अन्तिम टोली तयार पारेका हुन् ।
पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश तथा जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।
यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ ।
नेपाली टोलीको सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की छन् । त्यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मिन बहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छिन् ।
नेपाली टोली
लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, बिर्साना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी