काठमाडौं । जर्मनविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलले २५ वर्षपछि जर्मनीलाई पराजित गरेको हो । पछिल्लो पटक पोर्चुगलले जर्मनविरुद्ध सन् २००० मा जित निकालेको थियो ।
यसैगरी पोर्चुगलले सन् १९८५ पछि जर्मन भूमिमा जित हात पारेको हो ।
बुधबार म्युनिखस्थित एलियान्ज एरिनामा पाहुना टोली पोर्चुगललाई जित दिलाउन फ्रान्सिस्को कोन्सेइकाओ र कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरे । जर्मनीका लागि फ्लोरियन विर्ट्जले गोल गरे ।
खेलको ४३औं मिनेटमा विर्ट्जको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । उनले जोशुवा किमिचको पासलाई पोस्टको दिशा दिएका थिए ।
कोन्सेइकाओले ६३औं मिनेटमा रुबेन डियासको पासलाई सदुपयोग गर्दै पोर्चुगललाई बराबरीमा ल्याए ।
त्यसको पाँच मिनेटपछि नै रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अगाडी बढ्यो । यसपटक नुनो मेन्डिसले गोलको अवसर सिर्जना गरेका थिए ।
पोर्चुगलले उपाधिका लागि स्पेन र फ्रान्सको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।