काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले श्री कुमारी क्लबविरुद्ध ४–१ को जित हासिल गरेको छ ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आरसीटीका लागि विवेक राई र अजीत गुरुङले समान दुई गोल गरे । चार गोलले पछाडि रहेको अवस्थामा श्री कुमारीका लागि राजकुमार स्याङ्ताङले एक गोल फर्काएका थिए ।
यो जितसँगै १३ खेलमा १८ अंक जोड्दै आरसीटीले लिग टुंगायो । समान खेलबाट श्री कुमारी १६ अंक जोड्न सफल रह्यो । दुबै क्लबले अघिल्लो चरण रेलिगेसनको खतरा टारेका थिए ।
दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र वीरगंज युनाइटेडले एन्फा मुख्यालयमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बाँसबारी क्लब र ब्वाइज युनियन क्लबबीचको खेल चलिरहेको छ ।
यसपाली प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबले शीर्ष डिभिजनको हैसियत प्राप्त गर्दा श्री टुसाल युवा क्लब र नयाँबस्ती युवा क्लब ‘सी’ डिभिजनमा घटुवा भइसकेका छन् ।