काठमाडौं । रेलिगेसनमा परिसकेको नयाँबस्ती युवा क्लबविरुद्ध ५-० को सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेट एक खेल अगावै सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।
जितसँगै प्लानिङ ब्वाइजले १२ खेलमा ३० अंक जोडेको छ । यो दोस्रो स्थानमा रहेको श्री भगवतीको भन्दा सात अंक बढि हो ।
यता समान खेलबाट पाँच जोडेको नयाँबस्तीले पुछारमा रहेर लिग सक्काउने पक्का भएको छ ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा प्लानिङ ब्वाइजलाई जित दिलाउन फागुराम थारुले दुई तथा ओमप्रकाश चौधरी र प्रतापसिंह राईले समान एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको ११औं मिनेटमा फागुरामको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । २९औं मिनेटमा ओमप्रकाशले टोलीको अग्रता दोब्बर बनाए ।
नवीन खवासबाट ४७औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा प्लानिङ ब्वाइज ३-० ले अगाडि बढ्यो । ५५औं मिनेटमा फागुरामले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
प्रतापले ७२औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजलाई ५-० को सानदार जित दिलाए ।