काठमाडौं । इपानेमाको समुद्री तटमा पुगेर त्यहाँको न्यानो बालुवामा पैतला नछिराएसम्म, सिगार नतानेसम्म, कार्लो एन्सेलोट्टीका लागि ब्राजिली राष्ट्रिय टिमको प्रशिक्षक भएको के मज्जा भयो र ?
फुटबल विश्वकै सबैभन्दा ठूलो खेल हो भन्नेमा शंका छैन । न त एन्सेलोट्टी यो खेलको ठूला व्यक्तित्वमध्येको एक भएकोमा नै कुनै शंका छ । तर विश्व फुटबलले एन्सेलोट्टीलाई ‘ग्लोबल फिगर’ मानिरहँदा उनको विगत चाहिँ बिर्सन्छ ।
एन्सेलोट्टी कहाँबाट यहाँसम्म आइपुगे, उनको जरा कहाँ जोडिएको छ, यसबारे कमै चर्चा हुन्छ । रेगियोलो नाम गरेको सानो ठाउँको किसान परिवारमा जन्मिएका एन्सिलोट्टीले आफ्नो यात्रा दक्षिण अमेरिकासम्म त्यति सजिलै फैलाएका होइनन् ।

ब्राजिललाई पहिलो पटक विश्वकप जिताउने भिन्सेन्टो फिओलो हुन् । फिओलोका पिता दक्षिणी इटालीको अमाल्फी तटबाट ब्राजिल झरेका थिए । जहाँ नयाँ घरका लागि फिओलो परिवारले कास्टेलाबेटको पहाड छानेको थियो । हुन त फिओलो परिवारले पनि अरु धेरै इटालियन जस्तै साओ पाउलोलाई गन्तब्य बनाएर इटाली छाडेका थिए । इटालीपछि सबैभन्दा धेरै इटालियन जनसंख्या भएको सहर हो, साओ पाउलो ।
राष्ट्रिय टिममा ६० वर्षपछि पहिलो पटक विदेशी प्रशिक्षक भित्र्याउँदै ब्राजिलले पोर्चुगाली होइन, इटालियनलाई रोजेको छ ।
इटाली र ब्राजिलबीच सांस्कृतिक सम्बन्ध गहिरो छ । फुटबलमा भने यी असाध्यै ठूला प्रतिद्धन्द्धी हुन् । दुई टिम भिड्दा, इटालीले जिते कुरुप जित मानिन्छ । ब्राजिलको खेललाई भने पहिलेबाटै सुन्दर मानिँदै आइएको हो । जसले जिते पनि जित हो । जितको पनि फरक व्याख्या किन हुनुपर्यो र ? यो प्रश्न उठिरहने गर्छ । खैर, फुटबलमा यो रुढिबादी धारणाको लागि स्थान सुरक्षित छ ।
गत मे महिनामा नेदरल्यान्ड्सको आयाक्सले फ्रान्सिस्को फारिओलीलाई प्रशिक्षकमा नियुक्त गर्यो । यी इटालियन प्रशिक्षक इटालीकै अर्का प्रशिक्षक रोबर्टो डी जेर्बीका सहायक थिए । योहान क्रायफको विरासत जोडिएको आयाक्समा एक इटालियनलाई प्रशिक्षक बनाउने ? धेरै कुरा काटियो । असन्तुष्टि जाहेर भए ।

डच फुटबलमा इटालियनलाई होच्याउन धेरैथोक भनिन्छ । ‘इटालियनले हामीलाई हराउन सक्दैनन् । तर हामी उनीहरूसँग हार्न सक्छौं,’ डचहरु यसो भन्छन् । जे जे भए पनि ३६ वर्षीय फारिओलीलाई आयाक्स प्रशासनले क्लबको साख जोगाउन सक्ने प्रशिक्षकका रुपमा देख्यो।
ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक होइनन्, एन्सेलोट्टी । यसअघि अर्जेन्टिनाका नेल्सन एर्नेस्टोे फिल्पो नुनेजले सन् १९६५ मा ब्राजिललाई प्रशिक्षण दिएका थिए ।
डच फुटबलको सबभन्दा सफल क्लब आयाक्स पछिल्लो समय लरबराउँदै आएको थियो । यसलाई पुरानो लयमा फर्काउन नयाँ प्रशिक्षक खोजेको आयाक्सले फारिओलीलाई रोज्दा इटालियन फुटबल छक्कै परेको थियो । सुन्दर फुटबलको पर्यायवाची मानिने डच फुटबलको महाशक्तिलाई जोगाउन इटालियन प्रशिक्षक छान्दा अप्ठेरो मान्ने जमात एन्सेलोट्टीको ब्राजिल यात्रालाई के भन्छ ?
‘एक इटालियनले फुटबलका भगवान्हरुलाई सिकाउने छन्,’ लुइगी गारलान्डोले गाजेटा डेलो स्पोर्टमा लेखेका छन् । उसो त एन्सेलोट्टीको नियुक्तिलाई अचम्म मान्नुपर्ने कुनै कारण छैन । अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा सफल देशले क्लब फुटबलमा सबैभन्दा सफल प्रशिक्षकलाई नियुक्त गर्दा किन अचम्म मान्नु पर्यो ?

फेरि ब्राजिलको राष्ट्रिय टिम सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक होइनन्, एन्सेलोट्टी । यसअघि अर्जेन्टिनाका नेल्सन एर्नेस्टोे फिल्पो नुनेजले सन् १९६५ मा ब्राजिललाई प्रशिक्षण दिएका थिए । त्यसबेला ब्राजिलको राष्ट्रिय टिमको प्रदर्शन अहिलेजस्तो फितलो थिएन । यद्यपि त्यहाँको क्लब फुटबल भने सही दिशामा थिएन ।
कोपा लिबेरटाडोरेस दक्षिण अमेरिकी क्लब फुटबलका लागि च्याम्पियन्स लिग सरह हो । यो प्रतियोगिताका पछिल्ला आठ फाइनलमध्ये सातमा ब्राजिली टिम विजयी भएका छन् । सातमध्ये चार उपाधि ब्राजिली टिमले पोर्चुगलका प्रशिक्षकको नेतृत्वमा जितेका हुन् । यस्तोमा ती प्रशिक्षकमध्येबाट एकलाई ब्राजिलको राष्ट्रिय टिम जिम्मा लगाइने हल्ला थियो । तर राष्ट्रिय टिममा ६० वर्षपछि पहिलो पटक विदेशी प्रशिक्षक भित्र्याउँदै ब्राजिलले पोर्चुगाली होइन, इटालियनलाई रोजेको छ ।
ब्राजिलले सन् १९९४ मा आएर विश्वकप जित्यो । अमेरिकी भूमिमा भएको विश्वकप जित्दा ब्राजिलले हराएको विपक्षी थियो, इटाली ।
ब्राजिली राष्ट्रिय टिमको प्रशिक्षकमा इटालियन ? ब्राजिल किन पतनको बाटो हिँडेको ?
ब्राजिलका महान खेलाडीको सूचीमा रहेका जिकोले त यसो भनेका छैनन् । उनले त बरु एन्सेलोट्टीलाई प्रशिक्षक बनाउनु पर्छ भनेर सशक्त रुपमा आवाज उठाउँदै आएका थिए । इटालियन सिरी ‘ए’ मा युडिनेसीबाट केही समय खेलेका जिको इटालियन फुटबललाई सम्मान गर्छन् । सम्भवतः उनीमा सन् १९८२ को त्यो विश्वकपको छाप अझै बाँकी छ । त्यसबेला इटालीसँग ३-२ ले हार्दा ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो ।

अघिल्लो विश्वकपमा इटालीलाई हराएर तेस्रो भएको ब्राजिल चार वर्षपछि खराब स्थितिमा पुग्दा यसो भन्न थालियो, ब्राजिलको फुटबल साह्रै खस्कियो, अहिलेको खेल शैलीमै परिवर्तन ल्याउन आवश्यक छ । ब्राजिली खेलाडीलाई लाग्यो, ‘अब ब्राजिली बनेर खेलेर हुँदैन । इटालियन बन्नुपर्छ ।’ त्यो भनेको, शारीरिक रूपमा बलियो र आक्रामक ।
‘त्यो खेल जितेको भए, फुटबल अर्कै हुन्थ्यो । त्यो हारको कारण हामीले ब्राजिलको फुटबलको जग नै फेर्न सुरु गर्यौं । अब हामीलाई सुन्दर फुटबल होइन, जसरी भए पनि जित्ने फुटबल चाहिएको थियो,’ जिको सम्झिन्छन् ।
ब्राजिलले सन् १९९४ मा आएर विश्वकप जित्यो । अमेरिकी भूमिमा भएको विश्वकप जित्दा ब्राजिलले हराएको विपक्षी थियो, इटाली । पेनाल्टी सुटआउटमा पुगेर टुंगिएको उपाधि भिडन्तमा विजयी हुन ब्राजिलले इटालीलाई इटालीकै शैलीमा पछाडि पारेको थियो ।
एन्सेलोट्टी त्यस खालका प्रशिक्षक होइनन्, जो आफ्नै दर्शनमा मात्र अडिइरहोस । उनी खासमा विश्व फुटबलका ग्लोबल सिटिजन हुन् ।
त्यो इतिहास एन्सेलोट्टीले पक्कै बिर्सिएका छैनन् । किनभने त्यसबेला एन्सेलोट्टी इटालीका प्रशिक्षक आरिगो साचीका सहायक थिए । इटालीको पारम्पारिक शैलीभन्दा भिन्दै तरिका (काउन्टर प्रेसिङ, आक्रामक) अपनाएर विश्वकप जिताउन साचीलाई नियुक्त गरिएको थियो । साचीको यही शैलीका कारण क्लब फुटबलमा एसी मिलान महाशक्ति बनेको थियो । तर साचीको फुटबल दर्शन क्लब फुटबलबाट राष्ट्रिय टिममा सर्न सकेन ।

एन्सेलोट्टी त्यस खालका प्रशिक्षक होइनन्, जो आफ्नै दर्शनमा मात्र अडिइरहोस । उनी खासमा विश्व फुटबलका ग्लोबल सिटिजन हुन् । उनी सबै प्रकारका फुटबल दर्शनलाई आत्सात गर्छन् । तब त उनी इङ्लिस प्रिमियर लिगको एभर्टनसम्म पुगे ।
सन् २०२२ को विश्वकपमा इटाली थिएन । यस्तोमा उनले समर्थन गर्ने टिम बन्यो, क्यानाडा । उनको ससुराली टिम । क्यानाडामै रहेर विश्वकप हेर्दा उनले श्रीमतीसँग समय बिताए । बीचबीचमा माछा मार्न गए । सालमन समाते ।
एन्सेलोट्टी यस्ता प्रशिक्षक हुन्, जसले युरोपका सबै ठूला लिग जितेका छन् । फ्रान्सदेखि स्पेनसम्मका ठूला क्लब सम्हाल्दा त्यहाँको स्थानीय संस्कृतिमा रमाएका छन् । उनी हरेक परिस्थितिमा सम्हालिन्छन् । जुनसुकै स्थितिसँग पनि आफूलाई जोड्छन् । यही खुबीले उनलाई अरुभन्दा फरक बनाउँछ ।
एन्सेलोट्टीका लागि पनि ब्राजिल सही गन्तब्य हो । जहाँ उनले इटाली जत्तिकै आफ्नोपना महसुस गर्नेछन् ।
यहाँ अचम्म के छ भने फुटबल रणनीतिबारे कयौं किताब लेखेका एन्सेलोट्टी आधुनिक फुटबलमा कम स्तरका रणनीतिकार हुन् कि भनेर शंका गरिन्छ । अरु प्रशिक्षक जस्तो आक्रमक भएर प्रस्तुत नहुने भएका कारण उनीमाथि यस्तो शंका गरिएको हुन सक्छ । जब शान्त छवि नै उपाधि जिताउन पर्याप्त हुन्छ भने आक्रामक हुनु किन?

एन्सेलोट्टीको उपस्थिति महसुस हुने खालको हुन्छ । तब त उनी अगाडि नभए पनि उनीमाथि प्रश्न उठ्दैन । यही छविका कारण पनि ब्राजिल जत्तिको फुटबलको महाशक्तिले उनलाई छानेको हो । एन्सेलोट्टीका लागि पनि ब्राजिल सही गन्तब्य हो । जहाँ उनले इटाली जत्तिकै आफ्नोपना महसुस गर्नेछन् ।
इतिहासले के बताउँछ भने, विश्व घुम्न इटालियनले जति अरुले जानेका छैनन् । मार्को पोलो हुन् वा अर्जेन्टिनामा बोका जुनियर्सको स्थापना गर्ने जेनोआबाट त्यहाँ पुगेका आप्रावाशी, इटालियनको प्रभाव विश्वभर छ । आफू जहाँ जहाँ पुगे पनि फुटबल इटालियनले छाडेका छैनन् । विशेषगरि फुटबल दर्शन र रणनीति इटालियनको अब्बल निर्यात हो । पछिल्लो युरोमा २४ टिममध्ये चारमा इटालियन प्रशिक्षक हुनु पनि यसको प्रमाण हो । प्रिमियर लिगकै कुरा गर्ने हो भने पनि यो प्रतियोगिता इटालियन प्रशिक्षकले जति अरुले जितेका छैनन् ।
प्रशिक्षक निर्यातमा इटाली अब्बल भए जस्तै खेलाडी निर्यातमा ब्राजिलको बिरासत बलियो छ । यस्तोमा एन्सेलोट्टी ब्राजिल पुग्नु दुई फरक शक्ति एक हुनु हो ।
जति प्रशिक्षक उत्पादनमा इटाली अगाडि छ, यो मामलामा ब्राजिल त्यति नै पछि छ । अचेल ब्राजिल अब्बल प्रशिक्षक उत्पादन गर्दैन ।
इटालीले अचेल ब्राजिलले जस्तो अब्बल खेलाडी उत्पादन गर्न छाडेको छ । यस्तो किन ? यसको जवाफमा एउटा सिद्धान्त सुनाइन्छ । त्यो के भने, इटालीमा साना खेलाडीलाई उनीहरुको आफ्नो शैलीमा खेल्न दिनुको सट्टा अत्याधिक फुटबल रणनीतिको भारले थिचिन्छ । सायद सबै प्रशिक्षकलाई एन्सेलोट्टी बन्नु छ । जबकि एन्सिलोट्टी आफू भने हरेक खेलाडीलाई सकेसम्म उसैको शैली अभिव्यक्त गर्न छुट दिन्छन् ।

जति प्रशिक्षक उत्पादनमा इटाली अगाडि छ, यो मामलामा ब्राजिल त्यति नै पछि छ । अचेल ब्राजिल अब्बल प्रशिक्षक उत्पादन गर्दैन । सम्भवतः खेलाडीको प्रतिभा मर्ने डरका कारण ब्राजिलका प्रशिक्षक धेरै रणनीति बुन्दैनन् । त्यही भएर ब्राजिली क्लब फुटबलमा पोर्चुगाली प्रशिक्षकको लोकप्रियता बढी छ । फ्लामेन्गोमा होर्गे जेजुस र पाल्मिरासमा एबेल फेरेरा सफल भएका कारण पोर्चुगालीको माग बढेको हो । अब भने ब्राजिलले अब्बल घरेलु प्रशिक्षक उत्पादनमा ध्यान बढाउन सक्छ । यस्तोमा उपाय उही हो, क्लब फुटबलमा स्थानीय प्रशिक्षकको प्रयोग बढाउने वा विदेशी ल्याउने प्रक्रियालाई निरुत्साहित गर्ने । र, नयाँ मारियो जागालो वा लुइस फिलिप स्कोलारी नदेखिउन्जेल ब्राजिली फुटबल एन्सेलोट्टीसँगै रमाउने बाहेकको विकल्प्प छैन ।
सन् १९९४, १९९८ र २००२ विश्वकपको फाइनलमा पुगेको ब्राजिलले त्यसपछिका कुनै विश्वकप जितेको छैन । विश्वकप नजितेको २३ वर्ष पुगिसकेको स्थितिमा ब्राजिलले विदेशी प्रशिक्षकको चाल चलेको हो । पछिल्ला विश्वकपमा बेल्जियम र क्रोएसिया जस्ता साना युरोपेली देशसँग निराश हुनु परेको ब्राजिलको थप बेइज्जति रोक्ने जिम्मा अब एन्सिलोट्टीको हो ।
एन्सेलोट्टी ब्राजिलका लागि सही छनोट किन पनि हुन् भने ब्राजिली खेलाडीलाई राम्ररी बुझेका उनी जस्तो अर्का युरोपेली प्रशिक्षक छैनन् । र, त्यसमाथि उनीसँग एकसेएक स्टार खेलाडीलाई प्रशिक्षण दिएको अनुभव छ ।
त्यसो भए के उनी विश्वकप जित्न बिर्सिएको ब्राजिललाई विजेता बनाउन सक्षम होलान् त ? यदि सफल भए उनी सम्भवत हाल विश्व फुटबलकै सबैभन्दा अग्ला व्यक्ति बन्नेछन् । खेलाडी र प्रशिक्षकका रुपमा पाँच पटक च्यम्पियन्स लिग जितेका उनी विश्वकपको पदक पाएपछि सर्वाधिक अग्लो बन्नु नपर्ने कारण के नै हुने छ र ?(एजेन्सीहरुको सहयोगमा)