काठमाडौं । साबिक विजेता बंगलादेशसँग २-१ ले पराजित हुँदै नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रशंगशालामा बंगलादेशलाई जित दिलाउन अशिकुर रहमान र कप्तान नज्मुल हुदा फैसलले गोल गरे । नेपालका लागि सुजन डंगोलले गोल फर्काए ।
खेलको ७४औं मिनेटमा अशिकुरको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । सात मिनेटपछि नज्मुलले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै नेपालाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
नेपाल समूह ‘बी’ को उपाविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेतामा रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
समूह चरणमा श्रीलंकाविरुद्ध ५-० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४-० को फराकिलो हार बेहोरेको थियो । यता माल्दिभ्सँग २-२ को बराबरीमा रोकिएको बंगलादेशले भुटानलाई ३-० ले हराएको थियो ।
अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।