काठमाडौं । अर्जेन्टिनी स्टार जुलियन अल्भारेज चम्किएपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा पुनरागमन जित निकालेको छ । सोमबार राति एट्लेटिकोले घरेलु मैदानमा रियाल भ्यालाडोलिडलाई ४–२ ले हरायो ।
एट्लेटिकोको जितमा अल्भारेजले दुई गोल गरेका थिए । जिउलिआनो सिमोन र एलेक्जान्डर सार्लाेथले समान एक गोल गरेका थिए । भ्रमणकारी टोलीको लागि मामाडोउ सेला र जाभी सोन्चेजले समान एक गोल गरेका थिए ।
जितपछि तेस्रो स्थानमा पकड जमाएको एट्लेटिकाको युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । ३१ खेलबाट टोलीको ६३ अंक छ । यता, हारले भने रियाल भ्यालाडोलिडको रेलिगेशन डर झनै बढ्यो । टोली समान खेलबाट १६ अंकसहित पुछारमा छ । ला लिगमा समान खेलबाट ७० अंकसहित बार्सिलोना शीर्षस्थानमा छ ।
खेलको २१औं मिनेटमै मामाडोउले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । चार मिनेटपछि नै पाएको पेनाल्टी सदुपयोग गर्दै अर्जेन्टिनी स्टारले बराबरी गोल गरेका हुन् । सिमोनले २७औं मिनेटमै टोलीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा २–१ ले पछि परेको भ्रमणकारी टोलीले सान्चेजको गोलमा ५६औं मिनेटमा बराबरी गोल गर्याे ।
अर्को पेनाल्टीलाई सदुपयोग गर्दै ७२औं मिनेटमा अल्भारेजले अग्रता ३–२ को बनाएका हुन् । एलेक्जान्डरले ७९औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् ।