काठमाडौं । फरवार्ड रेजिन सुब्बाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यू गरेका छन् ।
रेजिनले मंगलबार एफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत मलेसियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक देशको प्रतिनिधित्व गरेका हुन् । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले रेजिनलाई ८५औं मिनेटमा मैदान प्रवेश गराएका थिए । रेजिनले फरवार्ड जिलेस्पीजंग कार्कीको स्थान लिएका थिए ।
रसको नेतृत्वमा डेब्यूको अवसर प्राप्त गर्ने रेजिन तेस्रो खेलाडी हुन् । यसअघि शुक्रबार सम्पन्न सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा रक्षक सुमन श्रेष्ठ र फरवार्ड सुवास वम ठकुरीले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । सुमन मलेसियाविरुद्ध पनि सुरुआती रोजाईमा थिए ।
रेजिन एरिक विष्ट, अर्पन कार्की, दीनेश हेन्जन, राजेश परियार, सेसेहाङ आङ्दाङ्बेसम्मिलित एन्फा एकेडेमी ब्याचका सदस्य हुन् । रेजिन नेपालले सन् २०१७ मा भुटानमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१८ च्याम्पियनसिपको उपाधि जित्दाका महत्वपूर्ण सदस्य थिए । सन् २०१९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुद (साग) खेलकुदमा नेपालले फुटबलमा स्वर्ण जित्दा रेजिन बालगोपाल महर्जनको नेतृत्वमा रहेको टोलीको पनि सदस्य थिए ।
विक्रम सम्बत् २०८० सालको जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेजिनले शीर्ष डिभिजनको पहिलो अनुभव लिइरहेको खुमलटार युवा क्लबको जर्सी लगाएका थिए ।
रेजिनको अन्तर्राष्ट्रिय डेब्यू भने सुखद रहन सकेन । मंगलबार सुल्तान इब्राहिम लार्कीन रंगशालामा घरेलु टोली मलेसियाले नेपाललाई २–० ले पराजित गर्यो । पहिलो हाफमा एक गोलको अग्रता लिएको मलेसियाले दोस्रो हाफमा थप एक गोल गरेको हो ।