बुटवल । तिलोत्तमा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मच्छिन्द्र फुटबल क्लबले भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा राजीव लोप्चनले गरेको एकमात्रै गोल मछिन्द्रलाई जित दिलाउन पर्याप्त बन्यो ।
पहिलो सेमिफाइनलमा विभागीय टोली एपिएफ र संकटा क्लब भिड्ने भएका छन् । यी दुईबीचको खेल बुधबार अपरान्ह्र ४ बजे हुनेछ ।
फाइनल प्रवेशका लागि मछिन्द्रले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
अर्को सेमिफाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबले संकटा क्लबको सामना गर्नेछ ।
एपिएफले आयोजक रुपन्देही-११ लाई १-० तथा संकटाले जर्जियन फुटबल क्लब कालिम्पोङभारतलाई ४-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।