सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाजको आयोजनमा सोमबारबाट सुरु भएको मालिका देवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटलब प्रतियोगिताको चौथो संस्करणमा सुकुटे जागरण मञ्च, सिंहमती युवा क्लब, साँगाचोक युथ क्लब र वारियर्स एफसीले विजयी सुरुआत गरेका छन् ।
चौतारा साँगाचोकगढी-७ मेलचौर दरबार डाँडा खेल मैदानमा सम्पन्न पहिलो खेलमा सुकुटे भिमटार ब्वाइजविरुद्ध ३-१ को जित निकाल्यो ।
सुकुटेलाई जित दिलाउन आर्यनकाजी थापाले दुई र दिपेश बस्नेताले एक गोल गरे । भिमटारका लागि किरण माझीले गरेको गोल सान्त्वना बन्यो।
यस्तै, दोस्रो खेलमा सिंहमतीले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडनडेथमा ४-३ ले पराजित गर्यो।
निर्धारित ४० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
तेस्रो खेलमा साँगाचोक युथ क्लबले सिर्जनशिल युवा समाजलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो ।
साँगाचोकको जितमा सागर रामुदामुले ह्याट्रिक पूरा गर्दा आयुष तामाङले दुई गोल थपे। जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो।
यस्तै, दिनको अन्तिम तथा चौथो खेलमा वारियर्सले चौतारा साँगाचोक साँगाचोकगढी वडा नम्बर-६ लाई वारियर्स एफसीले पेनाल्टी सुटआउटमा ४-५ ले पराजित गर्यो ।
निर्धारित ४० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।
विजेता चारै टोलीले अघिल्लो चरणको यात्रा तय गरेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
विजेताले पाउने प्रतियोगिताको पुरस्कार रकममा तेस्रो संस्करणको भन्दा ४४ हजार ४४४ रुपौयाँ बढेको छ । गत संस्करणको विजेता रोयल फ्यामिली चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ ।