काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक भएको छ ।
प्रशिक्षक राजेन्द्र तामाङले सोमबार बिहान मात्र टोलीमा जोडिएकी फरवार्ड सावित्रा भण्डारीलाई बेन्चमा राख्दै सुरुआती ११ सार्वजनिक गरेका छन् ।
पहिलो खेलमा नेपालले भुटानविरुद्ध दुर्भाग्यजनक बराबरी खेलेको थियो । प्रशिक्षक तामाङले भुटानविरुद्ध सुरुआती रोजाईमा खेलेका ६ खेलाडीलाई परिवर्तन गरेका छन् । तामाङले कप्तान तथा गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा अन्जना राणा मगर, रक्षक हिरा कुमारी भुजेलको स्थानमा बिमला बिक, फरवार्ड अमिषा कार्कीको स्थानमा रेखा पौडेल, रक्षक पुजा राणाको स्थानमा विमला चौधरी र अर्का रक्षक अमृता जैसीको स्थानमा निशा थोकरलाई मौका दिएका छन् ।
टोलीको नेतृत्व मिडफिल्डर रेणुका नगरकोटेले गर्नेछिन् ।
नेपालको सुरुआती ११
अन्जना रानामगर, विमला बिक, रेनुका नगरकोटे (कप्तान), सरु लिम्बु, रश्मीकुमारी घिसिङ, गीता राणा, रेखा पौडेल, प्रीति राई, विमला चौधरी, सवीता रानामगर, निशा थोकर