काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को चौंथोे खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा रेखा पौडेलले दुई तथा प्रीति राई र सवीता रानामगरले समान एक गोल गरे ।
माल्दिभ्सविरुद्ध एकपक्ष रुपमा हाबी देखिएको नेपालले खेलको छैटौं मिनेटमा पहिलो गोल गर्यो । सवीताको क्विक कर्नरमा प्रीतिले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । प्रीतिको सहज प्रहार अमीनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा माल्दिभ्सले गोल खाएको हो ।
खेलको २९औं मिनेटमा सवीताले सरु लिम्बुको पासलाई सदुपयोग गर्दै सवीताले दर्शनीय गोल गरिन् । सवीताले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो । तीन मिनेटपछि नै नेपालले अर्को गोल थप्यो । यसपालि रश्मीकुमारी घिसिङको कट्ब्याकमा रेखाले वान टचमा बललाई पोस्टको दिशा दिइन् ।
पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् । रेखाले सवीताको पासलाई सदुपयोग गरिन् ।
इन्जुरी समयमा कप्तान रेनुका नगरकोटेको प्रहार गोलकिपर अमीनाथले बचाइन् ।