काठमाडौं । माल्दिभ्सविरुद्ध को सानदार जित निकाल्दै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
जितसँगै दुई खेलमा चार अंक जोडेको नेपाल समूह ‘बी’ को शीर्षस्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्सले श्रीलंकासँग १-० को पराजय ब्यहोरेको थियो ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन रेखा पौडेलले पाँच, प्रीति राईले तीन तथा सवीता रानामगर, अनिता केसी र अमिशा कार्कीले समान एक गोल गरे ।
माल्दिभ्सविरुद्ध एकपक्ष रुपमा हाबी देखिएको नेपालले खेलको छैटौं मिनेटमा पहिलो गोल गर्यो । सवीताको क्विक कर्नरमा प्रीतिले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । प्रीतिको सहज प्रहार मल्दिभ्सकी गोलकिपर अमीनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा गोलमा परिणत भएको थियो ।
खेलको २९औं मिनेटमा सवीताले सरु लिम्बुको पासलाई सदुपयोग गर्दै सवीताले दर्शनीय गोल गरिन् । सवीताले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
तीन मिनेटपछि नै नेपालले अर्को गोल थप्यो । यसपालि रश्मीकुमारी घिसिङको कट्ब्याकमा रेखाले वान टचमा बललाई पोस्टको दिशा दिइन् ।
पहिलो हाफको निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा रेखाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । रेखाले सवीताको पासलाई पोस्टको दिशा दिइन् ।
रेखाले ५८औं मिनेटमा ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता ५-० मा पुर्याइन् ।
रेखाले ६३औं मिनेटमा ब्यक्तिगत चौथो तथा टोलीका लागि छैटौं गोल गरिन् । उनले‘ वान भर्सेस वान’ को स्थितिमा माल्दिभ्सकी गोलकिपर अमीनाथ लिजालाई जिट गर्दै बक्स भित्रबाट जाली चुमाइन् ।
त्यसको दुई मिनेटपछि नै प्रीतिले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ७-० ले अगाडि बढ्यो । उनले सवीताको पासलाई सदुपयोग गरिन् ।
मैदान छिरेको एक मिनेट पनि नबित्दै अनिताले नेपालका लागि आठौं गोल गरिन् । उनी ६७औं मिनेटमा मैदान छिरेकी थिइन् । अनिताले रश्मीकुमारी घिसिङको स्थान लिइएकी थिइन् । उनले अनिता बस्नेतको पासलाई पोस्टको दिशा दिइन् ।
रेखाले ७८औं मिनेटमा अनिता केसीले उपलब्ध गराएको बलाई पोस्टको दिशा दिँदै व्यक्तिगत पाँचौं तथा टोलीका लागि नवौं गोल गरिन् ।
प्रीतिले निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरिन् । एक मिनेटपछि नै अमिशा कार्कीले गोल गर्दै नेपाललाई ११-० को जित दिलाइन् ।
यही खेलमार्फत सजनी थोकरले सिनियर टोलीका लागि डेब्यू गरेको छ । उनले ६७औं मिनेटमा गीता रानाको स्थान लिइन् ।
अब समूह चरणको अन्तिम खेलमा बिहीबार नेपालले श्रीलंका र माल्दिभ्सले भुटानको सामना गर्नेछन् । सोमबारै सम्पन्न खेलमा भुटानले श्रीलंकाविरुद्ध ४-१ को सहज जित निकोको थियो ।