काठमाडौं । पहिरोमा पुरिएर गत शनिबार मकवानपुरको सिस्नेरी एकेडेमीमा छोरा विकल रेग्मीलाई गुमाएकी आमा कमला रेग्मीले घटनाको छानविन नभएसम्म अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको आठ लाखको चेक नलिने बताएकी छिन् ।
मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईसँगै केही पदाधिकारी परिवार भेट्न निजगढ पुगेका थिए ।
आमा कमलाले भने सिस्नेरी घटनाको सत्यतथ्य छानविन नभएसम्म राहत नलिने अढान लिइन् । ‘अध्यक्ष र महासचिव साथै को-को उपाध्यक्ष भन्दै हुनुहुन्थ्यो । म उहाँहरुलाई चिन्दिन । दिउसो घर आएर क्षतिपूर्ती लिनुपर्छ भन्नु भयो । मैले क्षतिपूर्ती लिँदिन । मेरो छोरोसहित ६ खेलाडी बितेको घटनाको सत्यतथ्य छानविन हुनुपर्छ । राहत लिएर नाम कमाउनु छैन भनिदिए,’ कमलाले निजगढबाट खेलाडी डटकमलाई भनिन्, ‘एकेडेमीको लापरबाही भएको हो । प्रधानाध्यापकसहित स्कुल प्रतिनिधिसँग छलफल गर्न माग गरेको छु ।’
पहिरोमा ज्यान गुमाउनेमा बारा निजगढ-८ का विकलसँगै मकवानपुरको हेटौँडा-१२ का अनुपम घलान, मकवानपुर गढी गाउँपालिकाका साइमन योञ्जन, मकवानपुरकै सिस्नेरी टेकरका दिवस बानियाँ, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य छन् ।
एन्फाले आइतबार बसेको कार्यसमितिको भर्चुअल बैठकमार्फत घटनामा परि निधन भएका सबै बालकको परिवारलाई जनही आठ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
सोमबार मात्रै प्रियान्सका बुबा टिका आचार्यले पनि लापरबाहीका कारण आफ्नो छोरालाई गुमाउन परेको भन्दै एन्फाले दिएको आठ लाखको चेक अस्विकार गरेका थिए ।
एकेडेमीमा आफ्ना छोराहरुलाई कैदीजसरी राखिएको र पूर्व जानकारी हुँदा पनि स्कुलबाट सुरक्षित स्थानमा नलगेको कमलाले आरोप लगाएकी छिन् । ‘छोराहरुलाई कैदीलाई जेलमा राखेको जस्तो राखिएको रहेछ । मैले अध्यक्षलाई तपाईलाई जिम्मा दिएको हो । सिस्नेरीमा राख्न दिएको हैन । सबै जिम्मा तपाईले लिनुपर्छ भनेको छु ।’
कमलाले थपिन्, ‘बाबुले खोला आयो भनेर हामीलाई भन्दा पनि हेडसरहरु एकेडेमी छाडेर भाग्नुभयो । चरम लापरबाही भयो । छानविन हुनुपर्छ । छोरोको लागि म मरे पनि लड्छु । मेरो छोरोको ज्यान ८ लाखको हैन ।’
दुई वर्षअघि एन्फाले मकवानपुर सिस्नेरीस्थित वत्सलादेवी माविसँगको सहकार्यमा एकेडमी संचालन गरेको थियो । त्यही एकेडेमीमा रहेका ४० मध्ये ६ खेलाडीको ज्यान असोज १२ गते कुलेखानी ड्याम खेलेपछि पहिरोमा पुरिएको थियो ।
सिस्नेरी एकेडेमीमा २५ जना विद्यार्थी छनोट गरिए पनि आर्थिक तथा राजनीतिक स्वार्थका लागि १५ जना थप गरेर ४० विद्यार्थी राखिएको विषय पनि यही दूर्घटनापछि सार्वजनिक भएको थियो । एन्फाकै केही पदाधिकारीहरुका अनुसार थप १५ विद्यार्थी उनीहरुका परिवारबाट पैसा लिएर राखिएको थियो ।