काठमाडौं । एफसी चितवनमाथि ३-१ को जित हासिल गर्दै ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा ललितपुरले पहिलो हाफमा पापा इबो केबेको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफमा विवेक पौडेल को सुन्दर गोलमा ललितपुरले अग्रतालाई दोब्बर बनायो । इन्जुरी समयमा केबेले व्यक्तिगत दोस्रो गोल गरे । चितवनका लागि खेलको एक मात्र गोल रफिक अमिनुले गरे ।
जितसँगै ललितपुर ५ खेलमा ९ अंक जोड्दै एक अंकको अग्रताका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । हारपछि चितवनले यसअघि शीर्ष स्थानमा रहेको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका गुमायो । ५ अंक जोडेको चितवन सातौं स्थानमा झरेको छ ।
१३ औं मिनेटमा ललितपुरले खेलको पहिलो अवसर सृजना गर्यो । ललितपुरका लागि पेनाल्टी बक्स भित्रबाट दिनेशले पहिलो बारमा गरेको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले बचाए । त्यसको तीन मिनेटपछि नै सनिस श्रेष्ठको क्रसमा पापा इबो केबेले गरेको हेडरले पोस्टको दिशा नलिँदा चितवनले फेरि अर्को खतरा टार्यो ।
त्यसको तिन मिनेटपछि विशाल पुनः बाधक बन्दा ललितपुरले अर्को सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । निखिल कदमको थ्रु पासलाई सदुपयोग गरेका केबेले वान भर्सेस वानमा विशाललाई बिट गर्न सकेनन् ।
१९ औं मिनेटमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका केबेले दिनेश हेन्जनको फ्लिक पासमा वान टचमार्फत सहज गोल गरे ।
२९ औं मिनेटमा चितवनले पहिलो अवसर बनायो । छिरिङ गुरुङको पासमा बक्सभित्रबाट विमल घर्ती मगरले गरेको लोअर प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले बचाए । त्यसको दुई मिनेटपछि रफिक अमिनुले तीन रक्षकलाई बिट गर्दै गरेको शक्तिशाली प्रहार जेफेरीले बचाए ।
पहिलो हाफको इन्जुरी समयमा एजिकीलको प्रहार चितवनका अमुबारिक युसीफबाट डिफ्लेक्ट हुँदै क्रसबारमा लागेर फर्किँदा ललितपुरले अग्रतालाई दोब्बर बनाउन सकेन ।
५७ औं मिनेटमा विवेकको सुन्दर भली गोलमार्फत ललितपुरले अग्रता दोब्बर बनायो । बक्सभित्र दिनेशको क्रसलाई अब्मुबारीक युसीफले हेडमार्फत क्लियर गरिदिए । तर, बल २० यार्ड पर जानुअघि विवेकले सुन्दर भली प्रहार गरेका थिए । जुन प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
दोस्रो हाफको मध्यतिर चितवनले तीन अवसरलाई गोलमा परिणत गर्न सकेन । ६४ औं मिनेटमा अफ्रिइ एक्वाहको फ्रिकिक प्रहार बाहिरियो । त्यसको ६ मिनेटपछि वैकल्पिक खेलाडी नवयुग श्रैष्ठले २५ यार्डबाट गरेको प्रहार जेफेरीले बचाए ।
त्यसको अर्को मिनेटमै टोरिक जेब्रीनले तीन रक्षकलाई बिट गर्दै प्रहार गरेको बल ललितपुरका ओमोलाजा करिमको खुट्टामा डिफ्लेक्ट हुँदै बाहिरियो ।
निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा जेब्रीनको थ्रु पासलाई सदुपयोग गर्दै अमिनुले एक गोल फर्काएपछि चितवनले खेलमा फर्किने संकेत देखाएको थियो ।
त्यसको अर्को मिनेटमै बक्सभित्र उत्सव राईले वैकल्पिक खेलाडी आदित्य शाक्यलाई लडाएपछि ललितपुरले पेनाल्टी प्राप्त गर्यो र उत्सव दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए । प्राप्त पेनाल्टीमा केबेले कुनै गल्ती गरेनन् ।
इन्जुरी समयमै शक्तिशाली बारमा लागेर फर्किएपछि केबले ह्याट्रिक पूरा गर्न सकेन ।
पहिलो संस्करणमा यी दुईले १-१ को बराबरी खेलेका थिए । प्रतियोगितामा सोमबार साबिक विजेता काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे हुनेछ ।