इटालियन सिरी ‘ए’

उडिनेसलाई हराउँदै इन्टर शीर्ष स्थानमा

काठमाडौं । उडिनेसमाथि ४० को जित निकाल्दै  इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

इन्टरले घरेलु मैदान सान सिएरोमा शनिबार इन्टरलाई जित दिलाउन हकन काल्हानोग्नु,फेडेरिको डिमार्को, मार्कस थुर्रम र लाउटारो मार्टिनेजले गोल गरे ।

जितसँगै इन्टरले दोस्रो स्थानको युभेन्ट्सलाई दुई अंकले पछि पारेको छ । इन्टरको १५ खेलबाट ३८ अंक छ । समान खेलबाट युभेन्ट्सको ३६ अंक छ । पराजित उडिनेस १२ अंक जोडेर १६ औं स्थानमा छ ।

खेलको ३७ औं मिनेटमा काल्हानोग्नुको पेनाल्टी गोलबाट इन्टरले अग्रता लिएको थियो । पाँच मिनेटपछि डिमार्कोले टोलीको अग्रता दोब्बर पारे ।

४४ औं मिनेटमा थुर्रमले गोल गरेपछि इन्टरले पहिलो हाफमा ३-० को आरामदायी अग्रता लियो ।  ८४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।

मार्टिनेजको उडिनेसविरुद्धको गोल सन् २०२३ मा २९औं गोल हो । सन् २००० यता, इन्टरका कुनैपनि खेलाडीले एक क्यालेन्डर वर्षमा सिरी ‘ए’ मा यति गोल गरेका छैनन् ।

सिरी ‘ए’ कै अन्य खेलमा एसी मिलान एटलान्टासँग ३-२ ले पराजित हुँदा भेरोना र लाजियो १-१ को बराबरीमा रोकिए ।