इङ्लिस प्रिमियर लिग

लिभरपुलको सहज जित

काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार नटिङ्घम फरेस्टमाथि ३-० को सहज जित निकालेको छ ।

जितसँगै १० खेलमा २३ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ । पराजय व्यहोरेको नटिङ्घम समान खेलबाट १० अंकका साथ १६ औं स्थानमा छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डियगो जोटा, डार्विन नुनेज र मोहम्मद सलाहले समान एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । डोमोनिक स्जोबोस्लाईको पासलाई सदुपयोग गर्दै  चार मिनेट पछि नै नुनेजले टोलीको अग्रता दोब्बर बनाए ।

७७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को सहज जित दिलाए । सलाहले पनि स्जोबोस्लाईकै पासलाई पोस्टको दिशा दिएका हुन् ।

लिग अन्तर्गत आइतबार नै सम्पन्न अन्य खेलमा एभर्टनले वेस्ट हमलाई १-०, एस्टन भिल्लाले लुटन टाउनलाई ३-१ पराजित गर्दा ब्राइटन र फुलहम १-१ को बराबरीमा रोकिए ।