म्यानमारविरुद्ध नेपाल

दोस्रो खेल खेल्दै नेपाल र म्यानमार

काठमाडौं । पहिलो खेलमा गोलरहित बराबरी खेलेका नेपाल र म्यानमारबीचको दोस्रो खेल आज हुँदैछ । म्यानमारको यांगुनामा हुने खेल नेपाली समयअनुसार अपराह्न सवाँ चार बजे सुरु हुनेछ ।

शुक्रबार भएको खेल बराबरीमासम्पन्न भएपछि दुबै टोली निर्णायक खेलमा जित निकाल्ने दाउँमा छन् । फिफा वरियतामा नेपाल एक सय ७५ र म्यानमार एक सय ६०औं स्थानमा छ ।

नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेस पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई नै निरन्तरता दिने तयारीमा छन् । पहिलो खेलमा युवा खेलाडी जिलेस्पीजंग कार्की र हिसुव थपलियाले डेब्यु गरेका थिए । जिलेस्पीले पहिलो एघारमै डेब्यु गरेका थिए ।

म्यानमार पुगेको टोलीमा सात नयाँअनुहार छन् । नेपालको कप्तानी गोलकिपर किरण कुमार चेम्जोङले गर्नेछन् । स्ट्राइकर आशिष चौधरीलाई प्रशिक्षक एनेसले म्यानमारविरुद्ध लेफ्ट ब्याकमा खेलाएका थिए ।

आशिषसँगै नेपालको रक्षापंक्तिमा अनन्त तामाङ, रोहित चन्द र सनिस श्रेष्ठ हुनेछन् । मिडफिल्डरमा पुनः लाकेन लिम्बू, मनिष डांगी र आवास लामिछाने नै निरन्तरता पाउन सक्छन् । अट्याकमा जिलेस्पीलाई अञ्जन विष्ट र आयुष घलानले साथ दिनेछन् ।

पछिल्लो खेलमा अञ्जनले पेनाल्टीअवसर खेर फ्यालेका थिए । उनको प्रहार म्यानमार गोलकिपरले रोकेका हुन् । यदि यो गोल भएको अवस्थामा अञ्जन हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबर गर्ने थिए ।