काठमाडौं । लिभरपुलले इङ्लिस प्रिमियर लिगको खेलमा आइतबार एस्टन भिल्लामाथि ३-० को सहज जित निकालेको छ ।
जितसँगै चार खेलमा १० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको एस्टन भिल्ला समान खेलबाट ६ अंकका साथ ११ औं स्थानमा छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमिनिक सोबोस्लाइ र मोहम्मद सलाहले गोल गरे । एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको तेस्रो मिनेटमै सोबोस्लाइको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। सोबोस्लाइले ट्रेन्ट अलेक्सजेन्डर अर्नोल्डको पासलाई सदुपयोग गरेका थिए ।
२२ औं मिनेटमा म्याटी क्यासबाट आत्मघाती गोल हुन पुग्दा लिभरपुलले अग्रता दोब्बर बनायो । ५५ औं मिनेटमा डार्बिन नुनेजको पासलाई पोस्टको दिशा दिँदै सलाहले लिभरपुललाई ३-० को सहज जित दिलाए ।
आइतबार नै सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेसले उल्भह्यामटनविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।