काठमाडौं । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका युवा फुटबलर कुशल फुयाल इङ्ल्यान्ड प्रस्थान गर्दैछन् ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटका लागि बोलाइएको ३३ सदस्यीय प्रारम्भिक टोलीमा रहेका कुशल शुक्रबार राति १ बजेको फ्लाइटमार्फत इङ्ल्यान्ड जान लागेका हुन् ।
कुशलले जेठमा सम्पन्न कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग मा कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका थिए । रेलिगेसनबाट जोगिन अन्तिम खेलसम्म संघर्ष गरेको फ्रेन्ड्स क्लबका लागि कुशल र उनका मिडफिल्ड सहकर्मी सन्तोष खत्रीको प्रदर्शनले सबैको मन जितेको थियो ।
लिगमै गरेको प्रदर्शनका आधारमा कुशलसँगै सन्तोषलाई राष्ट्रिय टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३३ सदस्यीय प्रारम्भिक टोलीमा बोलाएका थिए । तर छनोट प्रतियोगिता सुरु हुन दुई महिनाभन्दा कम समय रहेको स्थितिमा कुशल इङ्ल्यान्ड प्रस्थान गर्न लागेका हुन् ।
उनका नजिकका स्रोतका अनुसार कुशल पढाईका लागि इङ्ल्यान्ड जाँदैछन् ।
कुशलले २०१९ मा नेपालमै भएको य-१८ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिप खेलेका थिए । साेही वर्ष कुशलको प्रेरणादायी प्रदर्शनमा विभागिय टोली नेपाल पुलिस क्लब ललित स्मृति प्रतियोगितामा उपविजेता बनेको थियो । त्यही प्रदर्शनका आधारमा कुशल यु-१८ राष्ट्रिय टोलीमा परेका थिए ।
पुलिसपछि कुशल मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भए । मनाङमा अधिकांश समय बेन्चमै बसेका कुशलले २०७८ को लिगमा च्यासलबाट शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।