काठमाडौं । कोलम्बियामाथि २-१ को रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड फिफा महिला विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
इङ्ल्यान्ड लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि सन् २०१५ मा तेस्रो स्थान हासिल गरेको इङ्ल्यान्ड सन् २०१९ मा चौथो भएको थियो ।
सिड्नीस्थित अस्ट्रेलिया रंगशाला(एलियन्ज) मा इङ्ल्यान्डले एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै जित निकालेको हो । इङ्ल्यान्डलाई जित दिलाउन लोरेन हेम्प र एलेसिया रुसोले समान एक गोल गरे । कोलम्बियाका लागि लेसी सान्तोसले एक गोल गरिन् ।
खेलको ४४औं मिनेटमा सान्तोसको गोलमार्फत कोलम्बियाले अग्रता लिएको थियो । कोलम्बियाको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन पहिलो हाफको इन्जुरी समयमा हेम्पले इङ्ल्यान्डलाई बराबरीमा ल्याइन् ।
६३औं मिनेटमा रुसोले गरेको गाृेल निर्णायक बन्दा इङ्ल्यान्डले २-१ को रोमाञ्चक जित निकाल्यो ।
इङ्ल्यान्डले नाइजेरीयालाई पेनाल्टी सुटआउटमा ४-२ तथा कोलम्बियाले जमैकालाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।
सेमिफाइनलमा इङ्ल्यान्डले आयोजक अस्ट्रेलियाको सामना गर्नेछ । अस्ट्रेलियाले फ्रान्सलाई सडन डेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
यसैगरी अर्को सेमिफाइनलमा स्पेन र स्विडेन प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलमा स्पेनले नेदरल्याड्स तथा स्विडेनले जापालाई समान २-१ ले पराजित गरेका थिए ।