प्रि-सिजन टुर

बार्सिलोनाविरुद्ध आर्सनल विजयी

काठमाडौं।प्रि-सिजन टुर अन्तर्गतको क्लब मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाविरुद्ध ५-३ को जित निकालेको छ।

अमेरिकाको सोफी रंगशालामा बिहीबार सम्पन्न खेलमा अग्रता लिए पनि बार्सिलोनाले त्यसलाई जोगाउन सकेन।

खेलको सातौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा बुकायो साकाको गोलसँगै आर्सनल बराबरीमा आयो। २२औं मिनेटमा पाएको पेनाल्टीमा भने साका गोल गर्न चुके।

३४औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई २-१ अघि बढाए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा काइ हाभर्ट्जले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याए।

५५औं मिनेटमा लिआन्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई ३-२ को अग्रता दिलाए। ७८औं मिनेटमा टोसार्डले ब्यक्तिगत दोस्रो गोल गरेपछि आर्सनल ४-२ ले अघि बढ्यो।

८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गर्दै गोल अन्तर घटाएका थिए। तर एक मिनेट पछि नै फाबिओ  भिएराले गोल गर्दै आर्सनललाई ५-३ को जित दिलाए।

आर्सनलले अगस्ट २ मा मोनाकोसँग प्रि-सिजनको अन्तिम खेल खेल्नेछ। बार्सिलोनाले अब प्रि-सिजनमा रियाल मड्रिडसँग जुलाई ३०, एसी मिलानसँग अगस्ट २ र टोटनहमसँग अगस्ट ८ मा प्रतिस्पर्धा गर्नेछ ।