इङ्लिस प्रिमियर लिग

न्युक्यासल च्याम्पियन्स लिगमा छनोट

लन्डन । रेलिगेसनबाट जोगिन संघर्षरत लेस्टर सिटीसँग सोमबार गोलरहित बराबरीमा रोकिए पनि न्युक्यासल युनाइटेडले इङ्लिस प्रियिमर लिगको शीर्ष चारमा बस्दै आगामी सिजनका लागि च्याम्पियन्स लिगको टिकट पक्का गरेको छ । 

इन्जुरी समयको दोस्रो मिनेटमा गोलकिपर निक पोपले टिमोथी कास्टान्जेको प्रहार विफल पार्दै न्युक्यासलको हारको संकट टारेका थिए । 

यसअघि कालुम विल्सन, मिग्वेल एल्मिरोन र ब्रुनो ग्युमारेजले गरेको प्रहारमा पोस्ट बाधक बन्दा न्युक्यासलले अग्रता लिने अवसर गुमाएको थियो । 

३७ खेलमा ७० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंक बढी हो । लिग च्याम्पियन म्यानचेस्टर सिटीको ३६ खेलमा ८८ र दोस्रो स्थानको आर्सनलको ३७ खेलमा ८१ अंक छ । 

न्युक्यासलले पछिल्लो २० वर्षमा च्याम्पियन्स लिगमा स्थान बनाएको यो पहिलो पटक हो ।