काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले गोलकिपर जोर्डन पिकफोर्डलाई भित्र्याउने चाहना राखेको छ ।
गोलकिपर डेविड डि गियाको विकल्पका रुपमा युनाइटेड आगामी जुलाई ट्रान्सफर विन्डोमा प्रिमियर लिगकै एभर्टनबाट पिकफोर्ड भित्र्याउन चाहन्छ ।
डेली स्टारका अनुसार युनाइटेडका प्रशिक्षक एरिन टेन हागले पिकफोर्डलाई आफ्नो पहिलो प्रथामिकतामा राखेका छन् ।
पछिल्लो समय खराब लयमा रहेका डि गियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने सम्भवना बढेकाले युनाइटेड विकल्पको खोजीमा लागेको हो ।
लिगमा ३५ खेलमा ३२ अंकका साथ एभर्टन रेलिगेसन क्षेत्रबाट मात्र एक स्थानमाथि छ । विभिन्न सञ्चार माध्यममा आएका समाचार अनुसार एभर्टन रेलिगेसनका परे इङ्लिस गोलकिपर पिकफोर्डलाई रिलिज गर्ने सम्भावना छ ।
सन् २०१७ मा सन्डरल्यान्डबाट एभर्टन भित्रिएका पिकफोर्डले दुई सय १४ प्रिमियर लिग खेल खेलेका छन् ।
यसैगरी युनाइटेडले प्रिमियर लिगकै एस्टन भिल्लाका अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजलाई पनि सुचीमा राखेको छ ।