आइडब्लुएल

सेथु र किकस्टार्ट भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मिलित सेथु एफसीले इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा बुधबार किकस्टार्ट एफसीको समान गर्दैछ ।

किकस्टार्टमा नेपाल राष्ट्रिय टोलीका मडिफिल्डर सरु लिम्बु र रेनुका नगरकेटे आवद्ध छन् । खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बाट सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको सेथु किकस्टार्टलाई हराउँदै आफ्नो विजयी यात्रालाई कायम राख्न सोचमा छ । सेथु शतप्रतिशत जितका साथ पाँच खेलमा १५ अंक जोडेको छ । एन्जिलाले चार खेलमा मौका पाउँदा तीन क्लिन सिट राखेकी छन् ।

पछिल्ला चार खेलमा जित हात पारेको किकस्टार्ट पनि सेथुलाई लिगको पहिलो हार चखाउने लक्ष्यमा छ । किकस्टार्ट पाँच खेलमा १२ अंकका साथ तेस्रो स्थानमा छ ।

सरुले पाँच खेल खेल्दा चार गोल गरेकी छन् । रेनुकाको नाममा एक गोल छ ।

तीनै जना घरेलु प्रतियोगिता विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् ।