म्यानचेस्टर युनाइटेड

फर्नान्डेज उत्कृष्ट खेलाडी हुन्ः टेन हाग

काठमाडौं । युरोपियन फुटबल महासंघ (युइएफए) युरोपा लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियाल बेटिसमाथि ४-१ जित निकालेपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले कप्तान ब्रुनो फर्नान्डेजको प्रशंसा गरेका छन् ।

प्रिमियर लिग अन्तर्गत आइतब सम्पन्न खेलमा लिभरपुलसँग ७-० को फराकिलो  हार ब्यहोरेपछि फर्नान्डेजले युनाइटेड समर्थकबाट ठूलो आलोचनाको सामना गर्नु परेको थियो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलको छैटौं मिनेटमै मार्कुस रासफोर्डले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ३२ औं मिनेटमा एओजी पिरेजले रियाल बेटिसलाई खेलमा फर्काएका थिए । ५२ औं मिनेटमा एन्टोनीले युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए ।

५८औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३-१ मा पुर्याएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा वेजहर्सले युनाइटेडका लागि चौथो गोल गरेका थिए ।

‘फर्नान्डो पिचमा उत्कृष्ट खेलाडी थिए,’टेन हागले भने ‘उनले हरेका क्षेत्रबाट बल उपलब्ध गराए जसका कारण हामीले धेरै अवसरहरू सिर्जना गर्यौं । फर्नान्डोको जोश नै उसको शक्ति हो । तर कहिलेकाहीँ यसलाई नियन्त्रण गर्नुपर्दछ किनभने जब यो धेरै हुन्छ, यो कमजोरी बन्न सक्छ । यो उसलाई राम्रोसँग थाहा छ । ’

यसैगरी टेन हागले लिभरपुलसँगको हारलाई बर्सिन नक्सने भन्दै यसबाट पाठ सिक्नु पर्ने बताए ।

‘हामी लिभरपुलसँगको हारलाई बेवास्ता गर्न सक्दैनौं, टेन हागले भने,‘हामीले गल्ती गर्यौ । जसको सजया पनि पायौं । यस्ता गल्ती हुनुहँदैन । तर कहिलेकाहीँ नराम्रो नजिताको पनि सामना गर्नुपर्छ । जसले नयाँ ढङ्गले अघि बढ्न सिकाओस । हामीले पनि यो हारबाट पाठ सिकेर अघि बढ्नु पर्छ ।