काठमाडौं । एनएसजेएफ पल्स स्पोर्ट्स अवार्ड–२०८१ मा तेक्वान्दोका तुलसी गुरुङ स्पेसल अवार्डबाट सम्मानित भएका छन् ।
बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा गुरुङ स्पेसल व्यक्तित्व बनेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड कुल १० विधामा प्रदान गरिने छ ।
तुलसी गुरुङको बारेमा
खेलले व्यक्ति, समुदाय र राष्ट्रलाई नै पहिचान दिन्छ । आफ्नो मेहनतबाट खेलकर्मीले प्राप्त गर्ने उपलब्धि उनको व्यक्तिगत मात्र नभई राष्ट्रका लागि नै गर्वको बिषय हुन्छ । त्यो भौतिक उपलब्धि जब आफ्नो जन्मभुमि, अझ जन्मथलोकै खेल बिकासमा समर्पित हुन्छ, तब त्यो कर्म साँच्ची कै सराहनीय बन्न पुग्छ ।
नेपाली खेलकुदमा त्यस्तै अभुतपुर्व उपलब्धि हासिल गर्ने एक पोखरेली हुन् तुलसी कुमार गुरुङ ।
विश्व तेक्वान्दो मंचमा छाएका तुलसीले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट ९औँ डान ब्ल्याक बेल्ट प्राप्त गरे । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् ।
पोखराको वर्चोकमा जन्मिएका मसिनो जिउडाल तुलसी सानो उमेरमै छेलो हान्ने जस्तो बलको प्रयोग हुने खेलमा अब्बल थिए । १७ वर्षको उमेरमा ब्रिटिश गोर्खा सेनामा भर्ती भएपछि उनको जीवनले नयाँ मोड लियो । पोखरेली डाँडाकाँडामा छेलो हानेर रमाउने केटोको तेक्वोन्दो यात्रा त्यहि बाट सुरु भयो ।
हङकङलाई कर्मथलो बनाएका तुलसीले त्यहाँ लगातार प्रतियोगिता जितेर तहल्का मच्चाए। विश्व तेक्वान्दो च्याम्पियनसिपसम्म खेले ।
तर आफ्नो जन्मभूमीको खेलकुदमा केहि गर्ने हूटहूटीले संधै पोलिरह्यो । त्यसैले सन् २००१ मा उनले हङकङ नेपाली तेक्वान्दो संघ स्थापना गरेर नेपाली तेक्वान्दोमा जोडिए। र त्यसयता झन्डै ३ दशकको तेक्वान्दो यात्रामा उनी नेपाली खेलकुद विकासमा जोडिरहेका छन्। सन् २०१३ मा उनी हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त भए, जुन नेपालीको लागि गर्वको विषय बन्यो ।
यद्यपी तुलसीको मन भने बेचैनी अझै बाँकी नै रह्यो । नेपाली खेलकुदका लागि केही गर्ने उनको चाहना पुगेकै थिएन ।
त्यसैले हाल उनले पोखरामा फिट नेपाल स्पोट्र्स प्लेकस् खोलेका छन्। त्यसको उदेश्य हो उच्चकोटीको सुबिधा सहित केटाकेटीलाई ब्याटमिन्टन लगायत विभिन्न खेलको नियमित प्रशिक्षण दिने र ओलम्पिकको बाटोसम्म डोहोेर्याउने ।
ब्यक्तिगत उपलब्धिको गौरव र त्यो भन्दा माथि उठेर आफ्नो जन्मभूमिको खेलकुद बिकासमा देखिएको गुरुंगको समर्पणको उच्च कदर गर्दै नेपाल खेलकुद पत्रकार मंच उनलाई प्रदान गर्दछ पल्सर स्पेसल अवार्ड २०८१ ।
