काठमाडौं । पोखराको हिमश्री फुड्स प्रा.लि.को रारा चाउचाउ एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ सँग जोडिएको छ ।
रारा चाउचाउले नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डलाई साथ दिएको छ ।
काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धकका रुपमा छ । जसमा पोखरा उद्योगीहरुले साथ दिने क्रममा हिम श्री फ्ड्स जोडिएको हो ।
एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र प्रबन्ध निर्देशक प्रकाश केसीले अवार्ड सहकार्यसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सहारा क्लब, पोखराले आयोजना गर्ने ‘आहा रारा गोल्डकप फुटबल’मा रारा चाउचाउले २५ वर्ष देखि निरन्तर प्रमुख प्रायोजकका रुपमा साथ दिइरहेको छ । नेपालमा एउटै संस्थासँग यति लामो प्रायोजन सहकार्य भएको रारा पहिलो प्रायोजक संस्था हो ।
एनएसजेएफले स्पोर्टस अवार्डसँगै स्पोर्टस सम्मिटको पनि आयोजना गर्दैछ । उक्त सम्मिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल(फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ।
