नेपाली क्रिकेट

रोहित र दीपेन्द्रको शतकमा दिल्लीलाई तीन सय चार रनको लक्ष्य

काठामाडौं । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको शानदार शतकको मद्दतमा नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसन (डिडिसिए) सामु तीन सय चार रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस जितेर ब्याटिङका लागि आएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय तीन रनको योगफल तयार पा¥यो ।

नेपालका लागि रोहितले एक सय ३५ बलमा ११ चौका र एक छक्कासहित एक सय १३ तथा दीपेन्द्रले ६२ बलमा आठ चौका र ६ छक्कामद्दतमा एक सय ९ रन जोडे । त्यस्तै हरिशंकर साहले २५ र कुशल भुर्तेलले २१ रन बनाए ।

खराब सुरुआत गरे पनि छैटौं विकेटका लागि रोहित र दीपेन्द्रले एक सय २० रनको  शतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । यसअघि नेपालका ओपनर अर्जुन साउद र आसिफ शेख तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रन खाता नखोल्दै पेभेलियन फर्किएका थिए ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगै दोस्रो अभ्यास खेल खेल्नेछ । नेपाली टोली आइतबार भारतबाटै नामिबिया प्रस्थान गर्नेछ ।