नेपालको केन्या भ्रमण

केन्यासँगको एकदिवसीय शृंखला नेपाललाई

नौरबी । केन्याविरुद्ध दोस्रो खेलमा नेपालले घरेलु टिमलाई १७ रनले पराजित गरेको छ । जितसँगै तीन खेलको एकदिवसीय शृंखलामा नेपालले एक खेल अगावै जितेको छ । नेपाल शृंखलामा २–० ले अघि छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रनमात्र बनाउन सक्यो ।

केन्याका रकिब पटेलले सर्वाधिक ८१ रन बनाए । पटेलले ९८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यस्तै, कोलिन्स ओबुयाले ३७, नेल्सन ओधिएम्बाले २८ रन बनाए । कप्तान सेम एन्गोचे र नेहेमिह ओधिएम्बाले समान १२ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । ५.३ ओभर बलिङ गरेका दीपेन्द्रले १२ रनमात्र खर्चिए । सोमपाल कामी तीन विकेट लिए । यसबाहेक, करण केसी, आदील अन्सारी एक–एक विकेट लिए ।

यसअघि केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ४९।२ ओभरमा सबै विकेट गुमाएर दुई सय ३० रनको योगफल तयार गरेको थियो ।

नेपालको ब्याटिङमा कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ खेलेका थिए । रोहितले ९५ बलमा सात चौकासहित ७८ रन बनाएका थिए । ओपनर देव खनालले ३७ रन बनाएका थिए । सोमपाल कामीले टिमको खातामा २६ रन थप्दा ज्ञानेन्द्र मल्लले २५ र बसिर अहमेदले १७ बनाएका थिए । यस्तै, आदील अन्सारीले १४ रन बटुल्दा करण केसी ११ रन जोडेका थिए ।

केन्याका भिराज पटेल र सेम एन्गोचेले समान दुई विकेट लिएका थिए । यसबाहेक, नेहेमिह ओधिएम्बो, लुकास एन्डान्डासन, जेरार्ड मुथुइ र रकिब पटेलले एक–एक विकेट लिएका थिए ।

नेपालले केन्यासँग तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टिमलाई सात विकेटले पराजित गरेको थियो ।

एकदिवसीय शृंखलाअघि यी दुई टिमले पाँच खेलको ट्वान्टी २० शृंखला खेलेका थिए । उक्त शृंखला नेपालले ३(२ ले जितेको थियो ।