काठमाडौं । नेपाली राष्ट्रिय टोली अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी-२० शृंखलामा शुक्रबार पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको छ ।
चौथो पराजयसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ । यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अक्ररमले समान दुई तथा मोहम्मद सलमानले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि कप्तान इरफान खानले अविजित ४२, अब्दुल समादले २६, मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए ।
नेपालका लागि सोमपाल कामीले तीन , नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेलले एक विकेट लिए ।