काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाकोमा जारी टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो अन्तिम लिग खेलमा आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ ।
खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
नेपाल पाँच खेल खेल्दा तीन हार र दुई जितको नतिजा निकालेको छ । सुरुआती तीन खेलमा पराजय भोगेको नेपालले त्यसपछिका दुई खेल आफ्नो पक्षमा पारेको थियो ।
यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।
पाकिस्तानले भने पाँच खेलमा तीन जित निकालेको छ । ११ टोली सहभागी यस शृंखलामा सबै टोलीले ६ लिग खेल खेलेपछि शीर्षचार टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाल हाल पाँच खेलमा चार अंक जोडेर सातौं स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।
पाकिस्तानले सेमिफाइनल खेल्ने बलियो सम्भावना रहँदा नेपाललाई भने जित निकालेर मात्रै पुग्दैन अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।