काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु-१६ युथ लिगमा शुक्रबार सातदोबाटो युथ क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा १० अंक जोडेको प्लानिङ ब्वाइज १२औं स्थानमा छ । १४ वटै खेलमा पराजित सातदोबाटो अंकविहिन हुँदै पुछारमा छ ।
च्यासल रंगशालामा प्लानिङ ब्वाइजलाई जित दिलाउन ओम खड्का, रविन लुंगेलीमगर र दर्शन केसीले गोल गरे ।सातदोबाटोका लागि अश्विन पौडेल र डेविट सिवाकोटीले गोल फर्काए ।
खेलको १८औं मिनेटमा ओमको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । दुई मिनेटपछि नै रविनले टोलीको अग्रता दोब्बर बनाए ।
दर्शनले ३६औं मिनेटमा गोल गर्दा प्लानिङ ब्वाइजले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो ।
सातदोबाटोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि खेलमा फर्किन भने सकेन । सातदोबाटोका लागि अश्विनले ५३ र डेविटले ८१औं मिनेटमा गोल गरेका थिए ।
शुक्रबारै सम्पन्न अर्को खेलमा मनाङ मर्स्याङदी क्लबले श्री भगवती क्लबविरुद्ध १-० को कठिन जित दर्ता गर्यो ।