काठमाडौं । नेपालले चार देशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ । हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार नेपालले कुवेतलाई ६ वकेटले हरायो ।
जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेकाे थियो ।
कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । यो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपालले पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि नेपालले मलेसियाविरुद्ध पूरा गरे १६६ रनको लक्ष्य सबैभन्दा उच्च थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३८ बलमा चार छक्का र दुई चौकसहित ५३ र दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए ।
पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए । कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।
कुवेतका लागि क्लिन्टो एन्टोले ४१, मीत भवसरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६, मोहम्मद अस्लामले अविजित १७ र उस्मान पटेलले १३ रन बनाए ।
दोस्रो विकेटका लागि एन्टो र भवसरले ५४ रनको साझेदारी गरेका थिए । नेपालका लागि सोमपाल कामीले तीन, नन्दन यादवले दुई तथा ललितनारायण राजवंशी र कुशल भुर्लेलले समान एक विकेट लिए ।