नेपालगञ्ज । राजनीतिक पूर्नसंरचनासँगै देश संघीयतामा गएपछि नेपालगञ्जको रौनक अचेल पहिलाजस्तो छैन । प्रशासनिक रुपमा नेपालगञ्जको प्रभाव अचेल सुर्खेत र दाङतिर बाँडिएको छ । तत्कालिन मध्यपश्चिमको सदमुकाम नेपालगञ्जको परिचय अहिले लुम्बिनी प्रदेशको पश्चिमी छेउमा पर्ने एउटा ठूलो सहरका रुपमा सीमित भएको छ । पुरानो मध्यपश्चिमाञ्चल पनि टुक्रिएर सिंगो कर्णाली प्रदेश बनेको छ । थोरै भुभाग लुम्बिनी प्रदेशमा गाभिएको छ ।
प्रशासनिक रुपमा कमजोर बनेको प्रभाव पुनः प्राप्तीको लागि नेपालगञ्जले आफ्नै तरिकाले प्रयास गरिरहेको छ । तर एउटा संवृद्ध सहरका रुपमा स्थापित भइसकेको सहरको आर्थिक तथा पर्यटकीय गतिविधिका व्यस्तता भने उस्तै छन् ।
नेपाली खेलकुदलाई ठूल्ठुला स्टार खेलाडी दिएको नेपालगञ्जको फुटबल इतिहास त्यति संवृद्ध छैन, जति क्रिकेट, भारोत्तोलन, सुटिङलगायतका खेलमा छ ।
नेपालगञ्ज महिला क्रिकेटको जग बसाल्ने सहर हो । भारोत्तोलन सुटिङमा ओलम्पियन जन्माउने सहर हो । दुई पटक राष्ट्रिय खेलकुद आयोजना गर्ने सहर हो । यही कारण कुनै बेला पश्चिम नेपालको केन्द्रका रुपमा परिचित नेपालगञ्जलाई खेलकुदको सहर भनेर पनि चिनिन्थ्यो ।
इतिहास तुलनात्मक रुपमा पूर्वतिरका सहरभन्दा कमजोर भए पनि नेपालगञ्जले पटक पटक फुटबलको बलियो घर बनाउने प्रयास थालेको थियो । जसले धेरै समय निरन्तरता पाउन सकेनन् । स्थानीय समर्थकको प्रत्यक्ष रूपमा उच्चस्तरीय फुटबलको मज्जा लिने धोकोमाथि अल्पविराम लागिरहयो । नेपाली फुटबलको जगमा बलिया इट्टाहरु दिने सपना अवरुद्ध भइरहयो ।
नेपालगञ्ज पनि नयाँ इतिहास लेखनको अभियानमा फेरि एकपटक जुटेको छ । थोरै पुराना दिनको पुनरावृत्ति, थोरै नयाँ योजना, अनि धेरै ठूलो दीर्घकालिन प्रतिबद्धतासहित नेपालगञ्ज रंगशालामा शुक्रबारबाट फुटबल फर्किँदैछ ।
खेलकुदको सहर बन्ने अभियानलाई जोडतोडका साथ अगाडि बढाउने क्रममा नेपालगञ्जमा आठ दिने महिला फुटबल महोत्सव हुँदैछ । नेपाल र भारतका गरि आठ टोलील बैशाख १२ गतेसम्म नेपालगञ्ज रंगशालामा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अनि नेपालगञ्ज रंगशालामा तीन वर्षपछि उच्चस्तरीय फुटबल फर्किँदैछ ।
तीन वर्षअघि एन्फा प्रेसिडेन्ट्स कपका खेल भएयता नेपालगञ्ज रंगशाला मैदानको उच्चस्तरीय फुटबलसँग नाता टुटेजस्तै भएको थियो । आठौं वृहत राष्ट्रिय खेलकुदका लागि ६ वर्षअघि राज्यको करोडौं रुपैयाँ खर्चेर बनाएको रंगशाला खण्डहरमा परिणत हुँदै थियो ।
लुम्बिनी कपका लागि अहिले रंगशालाले नयाँ स्वरुप पाएको छ । मैदान हरियो भइसकेको छ । सतह पनि भ्याएसम्म मिलाइएको छ । पछिल्ला वर्षहरुमा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा सगौरव प्रस्तुत गर्दै आएको महिला फुटबलका स्टारहरूलाई निम्त्याउन रंगशाला मात्र होइन, सम्पूर्ण नेपालगञ्ज व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही भन्छन्, ‘महिला खेलाडीले अन्तर्राष्ट्रिय जगतमा नेपाली फुटबलको ठूलो नाम राखेको छ । राष्ट्रिय गौरवका थुप्रै कथा लेखेको छ । नेपाली महिला फुटबललाई अहिले लगानीको खाँचो छ । महिला खेलाडीलाई बढि भन्दा बढि खेल्न पाउने वातावरण बनाउनुपर्ने छ । हामीले महिला फुटबललाई त्यही वातावरण दिनका लागि यो प्रतियोगिता गर्न लागेका हौं । पूरा नेपालगञ्ज यो प्रतियोगितालाई लिएर उत्साहित छ । यसले नेपालगञ्जको फुटबललाई पनि नयाँ उचाई दिनेछ ।’
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । आयोजक अन्तरालका कार्यकारी अध्यक्ष जयनारायण शाह लामो समयपछि नेपालगञ्ज रंगशालामा फुटबल फर्किन लाग्दा सहरको खेलजगत उत्साहित भएको प्रतिक्रिया दिन्छन् ।
‘नेपालगञ्जले आठौं वृहत राष्ट्रिय खेलकुदपछि फुटबलको ठूलो प्रतियोगिता देख्न पाएको थिएन । राष्ट्रिय खेलकुदपछि २०७८ सालमा भएको एन्फा प्रेसिडेन्टस कपका खेल यहाँ भएको ठूलो प्रतियोगिता हो । अब लुम्बिनी कपले नेपालगञ्जको फुटबल भावनालाई प्रतिनिधित्व गर्नेछ,’ प्रतियोगिता आयोजनाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने बताउँदै शाहले थपे, ‘नेपालगञ्ज रंगशालामा फुटबल फर्काउन ठूलो चुनौती थियो । त्यसका लागि हामी अब पूर्ण रुपमा तयार भइसकेका छौं । अब यसलाई जुनसुकै मुल्यमा निरन्तरता दिइनेछ ।’
महिला फुटबलमा ठूलो सम्भावना रहेको र त्यसलाई सही गन्तव्यमा पुर्याउनका लागि लुम्बिनी कपले सहयोग गर्ने उनको विश्वास छ । भन्छन्, ‘हामीले खेल र खेलाडीलाई केन्द्रमा राखेर प्रतियोगिता गर्दैछौं । खेलाडी र टिमको सेवा सुविधामा कुनै सम्झौता हुँदैन । आगामी वर्षहरुमा प्रतियोगिताको आकार अझै ठूलो र व्यवस्थित बनाउँदै अगाडि बढाइनेछ ।’
प्रतियोगितामा नेपाली घरेलु महिला फुटबलका महारथी तीन विभागीय टिम नेपाल एपिएफ क्लब, नेपाल पुलिस र त्रिभुवन आर्मीसँगै सात नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने अन्य नेपाली टिममा आयोजक बाँके ११, सुदूरपश्चिम फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, कर्णाली फुटबल एसोसिएसन रहेका छन् । यसैगरी भारतबाट सिलगुढी फुटबल क्लबले प्रतियोगिताको उपाधिका लागि चुनौती पेश गर्नेछ ।
उद्घाटन खेलमा शुक्रबार आर्मी र सुदूरपश्चिम फुटबलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले यही बैशाख ९ गते हुने सेमिफाइनलमा नेपाल पुलिस क्लब वा सिलगुडी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल पुलिस र सिलगुढीबीच पहिलो चरणको प्रतिस्पर्धा शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजकले बताएको छ ।