काठमाडौं । साई शुदर्शनको उत्कृष्ट ब्याटिङप्रेरित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा राजस्थानले १९.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ५९ रन बनाउन सक्यो ।
जितपछि गुजरातले ५ खेलमा ८ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ । तेस्रो हारपछि पाँच खेलमा चार अंक जोडेको राजस्थान सातौँ स्थानमा छ ।
प्रसिद्ध कृष्णले तीन तथा रसिद खान र साई किशोरले समान दुई विकेट लिएपछि राजस्थानको ब्याटिङक्रम धर्मराएको थियो । सिमरोन हेटमायरले ३२ बलमा ५२ तथा कप्तान सन्जु सामसनले २८ बलमा ४१ रन बनाउनु बाहेक अन्य खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।
पहिलो इनिङ्समा गुजरातका लागि साईले ५३ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । जस बटलर र शाहरुख खानले समान ३६, राहुल तेवाटियाले अविजित २४ तथा राशिद खानले १२ रन बनाए ।
साईले दोस्रो विकेटका लागि बट्लरसँग ८० र तेस्रो विकेटका लागि शाहरुखसँग ६२ रनको साझेदारी गरेका थिए ।
राजस्थानका लागि महेश तिक्क्षणा र तुषार देशपाण्डेले समान दुई तथा सन्दीप शर्मा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।