काठमाडौं । नेपाली यु-१९ टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा हङकङविरुद्ध तीन विकेटको जित दर्ता गरेको छ ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बुधबार हुनेछ ।
सोमबार मुलपानी क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २६.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि सिब्रिन श्रेष्ठले २३, दिलसद अलीले अविजित १८, सन्तोष यादवले १५ र कप्तान अभिषेक तिवारीले १० रन बनाए ।
हङकङका लागि ड्यानियल एम्पले चार तथा सायम पुरी, थोमस एलेक्सजेन्डर फुजिस र ह्यारी हजसनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि अब्दुल समादले ९८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान शिव माथुरले २० र प्रित मन्गुकियाले ११ रन बनाए ।
नेपालका लागि सन्तोष यादवले चार, दयानन्द मण्डलले दुई तथा अभिषेक तिवारी र सिब्रिन श्रेष्ठले समान एक विकेट लिए ।