काठमाडौं । जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सोमबार संकटा क्लबविरुद्ध ५-३ को सहज जित दर्ता गरेको छ ।
जितसँगै १८ खेलमा २६ अंक जोडेको जावलाखेल सातौं स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट ३३ अंकका साथ तेस्रो स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन धर्वेन्द्र कुँवरले दुई तथा सन्देश थोकर, विवस दर्लामी र सुदीप मोक्तानले समान एक गोल गरे । संकटाका लागि कृष्णबहादुर आले र दिलन लिम्बुले समान एक गोल गर्दा एक गोल आत्मधाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको पाँचौं मिनेटमा सन्देशको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । १७औं मिनेटमा विवसले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको तीन मिनेटपछि नै धर्वेन्द्रले गोल गर्दा जावलाखेल ३-० ले अगाडि बढ्यो । ६३औं मिनेटमा कृष्णले संकटाका लागि गोल गरे ।
दिलनले ७७औं मिनेटमा गोल गर्दै संकटालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर एक मिनेटपछि नै सुदीपले गोल गर्दै जावलाखेलको अग्रता ४-२ मा पुर्याए ।
समिर दर्लामीबाट आत्मघाती गोल हुन पुग्दा खेल ४-३ को स्थितीमा पुग्यो । ८३औं मिनेटमा सबिनकुमार लुंगेलीमगर पेनाल्टीमा चुक्दा संकटाले बराबरी गर्ने अवसर गुमायो ।
इन्जुरी समयमा धर्वेन्द्रले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको जित पक्का गरे ।